नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकमा पार्टीको आसन्न केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने भनिए पनि त्यस विषयमा आजै ठोस निर्णय भने हुन नसकेको माओवादी केन्द्रले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठक कसरी सञ्चालन गर्ने भन्नेबारे केही छलफल भए पनि बैठकका एजेन्डा भने तय भई नसकेको नेता हितराज पाण्डेले जानकारी दिनुभयो ।
केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक भोलि पुनः बस्ने छ । आज बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष पम्फा भुषालले आफूले गरेको विदेश भ्रमणबारे जानकारी गराउनुभएको माओवादी केन्द्रले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड इटलीको रोममा आयोजित फुड सिस्टम सम्मेलनमा सहभागी भई हिजो मात्र स्वदेश फर्कनुभएको थियो । पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको माओवादी नेताहरूको टोली भारतीय जनता पार्टीको निमन्त्रणमा साता दिनअघि नयाँ दिल्ली गएर फर्किएको हो ।