काठमाडौँ । सत्तारुढ गठबन्धनको आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउन राख्नुभएको प्रस्ताव अघि बढाउने निर्णय बैठकले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको र त्यसको केही प्रक्रियाहरू पूरा गरेर चाँडै अघि बढाइने जानकारी दिनुभयो ।
सञ्चारमन्त्री कार्कीले यसरी अगाडी बढाइने विधेयकले बाबु र आमा नागरिक तर तिनका सन्तान अनागरिक रहनुपर्ने समस्याको अन्त्य गर्ने बताउनुभयो । सञ्चारमन्त्री कार्कीले बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउने विषयमा पनि छलफल भएको बताउनुभयो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रियाका सम्बन्धमा हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको पनि सञ्चार मन्त्री कार्कीले जानकारी दिनुभयो ।