मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा आएकाले नेपालमा मनसुन थप सक्रिय भएको छ । यसअघि न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतर्फ रहँदा भारतमा धेरै वर्षा र नेपालमा कम भएकोमा आज सरदर स्थानको आसपास आएको मौसम पूर्वानुनमान् महाशाखाले जनाएको छ ।
न्यून चापीय रेखा सरदर वा उत्तरतर्फ सर्दै जाँदा नेपालमा प्रभाव बढ्न थाल्छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा पानी परिरहेको छ । पछिल्लो तीन घण्टामा कास्कीमा मुसलधारे वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाले कालीखोला लगायतका खोला खोल्साहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ ।
महाशाखाका मौसमविद् विनु महर्जनले देशका धेरैजसो ठाउँमा आउँदाे दुई/तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताउनुभयो । आज राति कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघ गर्जन चट्याङसहित ठूलो वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।