नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेपाली जनताको आशा र भरोसाको पार्टी भएको बताउनुभएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा आजदेखि नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एमाले मात्र देशलाई अगाडि बढाउन सक्ने पार्टी भएको बताउनुभयो ।
ओलीले भन्नुभयो, “नेकपा एमाले बाहेक अब अर्को कुनै पार्टी विकल्प छैन ।” नेकपा एमालेलाई कसैले पनि पराजित गर्न नसक्ने भन्नुहुँदै उहाँले एमाले मिसन २०८४ मा केन्द्रित भएको पनि बताउनुभयो । अध्यक्ष ओलीले सरकार आफैँले भ्रष्टाचार लुकाउने कोसिस गरिरहेको भन्नुहुँदै सरकार केवल स्टन्टबाजीमा मात्र उत्रेको बताउनुभयो । एयरपोर्ट बाहिर केही दिन अघि बरामद गरिएको ठूलो परिमाणको सुनप्रति लक्षित उहाँले सरकारको जानकारी विना उक्त काम हुन नसक्ने दाबी गर्नुभयो ।
लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको छ । कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव पद्मा अर्याल लगायतले बोल्नुभएको थियो । भेला तथा प्रशिक्षण भोलिसम्म चल्नेछ । भेलामा लुम्बिनी प्रदेशमा एमालेबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि सहभागी छन् ।