फागुन १५, मकवानपुर । मकवानपुर जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य सामग्री हेटौंडा आइपुगेको छ भने समग्र व्यवस्थापन कार्य तीव्र पारिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो ।
ढकालका अनुसार निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सामग्री—मतपत्र, मतदान पेटिका, छाप, मसी तथा फाराम—जिल्लामा सुरक्षित रूपमा भित्रिसकेको छ । अब ती सामग्री सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासन पूर्ण तयारीमा रहेको बताउनुभयो । “चारै सुरक्षा निकायबीच समन्वय गरेर सुरक्षा योजना तयार गरिएको छ । मतदाताले निर्भय वातावरणमा मतदान गर्न सक्ने अवस्था सुनिश्चित गरिनेछ,” उहाँले भन्नुभयो ।
७४ मतदान केन्द्र, ३ लाखभन्दा बढी मतदाता
दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर–१ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र तथा क्षेत्र नम्बर–२ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र रहेका छन् । जिल्लाका १० स्थानीय तहका १०२ वडामा गरी कुल ३ लाख १५ हजार ३३४ मतदाता छन् ।
क्षेत्र नम्बर–१ मा १ लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर–२ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । लैंगिक आधारमा १ लाख ५३ हजार ३७६ महिला, १ लाख ६१ हजार ९५३ पुरुष र ५ जना अन्य मतदाता रहेका छन् ।
१९ मतदानस्थल अति संवेदनशील
जिल्लाका १६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिले ६ स्थानीय तहका ती मतदानस्थललाई अति संवेदनशील, ६० लाई संवेदनशील र ८८ लाई सामान्य श्रेणीमा वर्गीकरण गरेको छ । अति संवेदनशील सूचीमा परेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र रहेका छन् । मतदान केन्द्रहरूको भौतिक अवस्था, पहुँच मार्ग, सञ्चार सुविधा तथा संवेदनशीलताको मूल्याङ्कन सम्पन्न भइसकेको प्रशासनले जनाएको छ ।
स्वास्थ्य तथा उद्धार संयन्त्र ‘हाई अलर्ट’मा
निर्वाचन अवधिलाई लक्षित गर्दै स्वास्थ्य तथा उद्धार संयन्त्रलाई पनि पूर्ण तयारी अवस्थामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सेवा र उद्धार संयन्त्रलाई ‘हाई अलर्ट’मा राख्ने निर्णय गरेको हो ।
हेटौंडा अस्पताल लगायत जिल्लाका सबै स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । दमकल र एम्बुलेन्स सेवा पनि जुनसुकै बेला परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।
फागुन १८ देखि मतदान अधिकृत केन्द्रमा पुग्ने
निर्वाचनका लागि फागुन १८ गतेदेखि मतदान अधिकृत तथा सहायक अधिकृतहरू आ–आफ्नो मतदान केन्द्रमा पुग्ने तयारी गरिएको छ । तालिम सम्पन्न गरी नियुक्तिपत्र र निर्वाचन सामग्री बुझेर कर्मचारीहरू केन्द्रमा खटिने ढकालले बताउनुभयो ।
निर्वाचन अधिकृतहरूले केन्द्रमा पुगेर मतदाता नामावली प्रकाशन गर्ने, सूचना टाँस गर्ने तथा मतदान स्थलको अन्तिम तयारी गर्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।
३ हजारभन्दा बढी कर्मचारी परिचालन
निर्वाचनका लागि जिल्लामा ३ हजार ३६६ कर्मचारी परिचालन हुने भएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन कार्यालयबाट २ हजार २४४ जना र मतदान केन्द्रमै नियुक्त हुने १ हजार १२२ जना कर्मचारी खटाइनेछन् । यस बाहेक करिब १ हजार नेपाल प्रहरी र १ हजार ९२३ जना म्यादी प्रहरी परिचालन भएका छन् । जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।
दुई क्षेत्र, ४४ उम्मेदवार प्रतिस्पर्धामा
मकवानपुरका दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कुल ४४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर–१ बाट १३ जना दलका र १० जना स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी मैदानमा छन् भने क्षेत्र नम्बर–२ बाट १६ जना दलका र ५ जना स्वतन्त्र गरी २१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयोगले तोकेको फागुन ४ देखि १८ गतेसम्मको प्रचार अवधिमा दल तथा उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममार्फत प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । यता निर्वाचनका लागि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ ।