सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गर्नुभएको छ । प्रदेश प्रमुख जोशीले गत माघ २६ गते गठित प्रदेश मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ बमोजिम मन्त्रीको नियुक्ति र कार्यविभाजन गर्नुभएको हो ।
नवगठित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा रमेशसिंह धामीले जिम्मेवारी पाउनुभएको छ । भौतिक पूर्वाधारमन्त्री देउवा र आर्थिक मामिलामन्त्री शाही यसअघि नै मन्त्री बन्नुभएको हो ।
यस्तै उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी मालले जिम्मेवारी पाउनुभएको छ । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्रीको जिम्मा भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय रहेको छ ।
प्रदेश प्रमुखको कार्यालय धनगढीमा आजै आयोजित विषेश समारोहमा प्रदेश प्रमुख जोशीसमक्ष नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताका शपथ लिनुभएको छ । सोही समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष राज्यमन्त्री मालले पद तथा गोपनीयताको शपथ लिनुभयो । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
फागुन २१ गते प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नु भएका मुख्यमन्त्री शाहलाई काँग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, नेकपा एस, स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस १९, माओवादी केन्द्र ११ सभामुख(सहित), एमाले १०, नागरिक उन्मुक्ति ७, एस ४, राप्रपा १ र स्वतन्त्र १ जना रहेका छन् ।