फाइल फाेटाे

संसदमा आजदेखि तीन दिनसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेअनुसार आज सोमबारबाट प्रि-बजेटका बारेमा छलफल हुने भएको छ ।
आज सोमबार (२५ गतेदेखि २७ गते)सम्म प्रि-बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि-बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने गरी कार्य तालिका तय भएको छ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि-बजेटका बारेमा छलफल सुरु गरेका छन् । गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।
प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।