नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले आगामी केन्द्रीय समितिको बैठक अगाडि नै पार्टीका विभाग र भातृ सङ्गठनहरूलाई पूर्णता दिने निर्णय गरेको छ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यही वैशाखभित्र नै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरी त्यस भन्दा अगाडि नै भातृ सङ्गठन र विभागहरूलाई पूर्णता दिने निर्णय गरेको नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो ।
डा. महतले केन्द्रीय समिति बैठकको मिति तय भई नसके पनि वैशाख २७,२८ वा २९ गते बैठक बोलाउने गरी तयारी अगाडि बढाउने निर्णय भएको बताउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणबारे सञ्चारकर्मीको जिज्ञासामा नेपाली काँग्रेसका प्रवक्ता डा महतले यो विषय जघन्य अपराध भएको हुनाले यसमा संलग्न सबै व्यक्तिमाथि कारबाही हुनुपर्ने बताउनुभयो ।