एसिया कप २०२३ पाकिस्तान र श्रीलङ्कामा हुने पक्का भएकाे छ । एसिया कप आउँदाे अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुने एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार जानकारी दिएकाे छ । एकदिवसीय फर्म्याटमा हुने एसिया कप यस पटक हाइब्रिड माेडलमा हुन लागेकाे हाे । जसअन्तर्गत प्रतियाेगिताका चार खेल पाकिस्तान र बाँकी नाै खेल श्रीलङ्कामा हुनेछ ।
भारतले पाकिस्तान जान नमानेपछि प्रतियाेगिता दुई ठाउँमा खेलाइने भएकाे हाे । नेपालले पाकिस्तानसँगकाे खेल पाकिस्तानमै खेल्नेछ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । नेपालले अघिल्लो महिना घरेलु मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । यसअघि भारत र पाकिस्तानकाे आन्तरिक राजनीतिक विवादका कारण एसिया कप हुने वा नहुनेमा अन्याेल थियाे । यही कारण अहिलेसम्म प्रतियाेगिताकाे ठाउँ र तालिका सार्वजनिक भएकाे थिएन ।