मकवानपुर, असार – मकवानपुर जिल्लामा नागरिकको तहबाट शैक्षिक क्षेत्रमा योगदान गर्ने उदेश्यका साथ स्थापित “शैक्षिक सहयोग अक्षयकोष नेपाल“ मकवानपुरको छैठौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभामा बोल्नुहुँदै प्रमुख अतिथि पौडेलले कोषलाई अगाडी बडाउन सबैको सहयोग र सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले संस्थालाई थप सुदृढ बनाउन सबैको प्रयास र प्रयत्न आवश्यक रहेको पनि बताउनुभयो । मकवानपुर जिल्लामा शिक्षाको अवसरबाट बञ्चित विपन्न, अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्थापित एवम् जोखिममा रहेका बालबालिकाका लागि संस्थाले महत्वपूर्ण भुमिका खेल्नु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेलले संस्थालाई अझ मजबुत बनाउँदै संस्थाको उदेश्यक अनुसार अगाडी बढ्नु पर्ने भन्दै छात्रबृति वितरणमा साच्चै आवश्यक भएकालाई मात्र दिने कुरामा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।

साधारणसभाले संस्थाका अध्यक्ष खुलालले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदन र कोषध्यक्ष रामकृष्ण थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थामा हालसम्म संस्थागत सदस्य ३५ जना, आजिवन सदस्य ९१ जना, विशिष्ट सदस्य १२ जना र साधारण सदस्य १७ जना गरि कुल १५५ जना सदस्य आवद्ध हुनु भएको छ । यस्तै संस्थामा हालसम्म कुल २० लाख ३७ हजार २५१ रुपैयाँ जम्मा भईसकेको छ ।
अध्यक्षमा पुनः खुलाल
शैक्षिक सहयोग अक्षय कोषको अध्यक्षमा पुनः रघुनाथ खुलाल निर्वाचित हुनु भएको छ । शुक्रबार सम्पन्न संस्थाको छैठौं साधारण सभाले खुलालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति सर्वसममत चयन गरेको हो ।

समतितिको सचिवमा बद्री बहादुर पाठक, कोषध्यक्षमा सुधिर थापा चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा रामकृष्ण थापा, नवराज अर्याल, बद्री चौलागाई, राम शागर गारागाई र सौजन डिसि चयन हुनु भएको छ । निर्वाचन कमिटीले समितिमा एक जना उपाध्यक्ष र एक जना महिला सदस्य छनौट गर्ने अधिकार कार्य समितिलाई प्रदान गरेको छ । साधारणसभाका अवसरमा नारायणि यातायात व्यवसायी संघलाई अक्षय कोष बृद्धिमा महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान समेत गरिएको थियो ।