मकवानपुर, असार ७ – बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले अन्तर्राष्ट्रिय योग दिवस २०२४ (जुन २१) को अवसरमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई योगमार्फत स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभएको छ।

उहाँले योगलाई नेपालको गौरवपूर्ण सभ्यता र सनातन परम्पराले दिएको अनुपम उपहारको रूपमा चित्रण गर्दै यसले आत्मानुशासन र सह–अस्तित्वको बाटो सिकाउने जीवनदर्शन भएको उल्लेख गर्नुभएको छ।

“पूर्वीय सभ्यताले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक र संवेगात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न योगाभ्यासलाई आत्मसात् गर्‍यो। आज त्यसको चमत्कारिक प्रभावलाई पश्चिमी जगत् लगायत समग्र विश्वले अवलम्बन गरेका छन्,” सन्देशमा भनिएको छ।

प्रदेश प्रमुख देवकोटाले आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा योग नै शान्त, निरोगी र सुदृढ बनाउने अमूल्य साधन भएको उल्लेख गर्दै सबैलाई दैनिक योगाभ्यासमा केही समय समर्पण गर्न आग्रह गर्नुभएको छ।

उहाँले अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। योगले सबैमा नयाँ ऊर्जा, शारीरिक सन्तुलन र मानसिक शान्तिको अनुभूति गराओस् भन्ने उहाँको शुभेच्छा रहेको छ।