एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएई १ सय १७ रनमा अलआउट भएको छ । यूएई ३३ ओभर १ बलमा अलआउट भयो ।
यूएईले नेपाललाई जितका लागि १ सय १८ रनको लक्ष्य दिएको छ । फाइनल खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु भएको थियो । कीर्तिपुर मैदानमा हिजो खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा थियो ।
अन्तिम विकेटका रुपमा आज यूएईका जुनैद सिद्दिक आउट भए । नेपालका ललित राजवंशील विकेट लिए ।
आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।
एकदिवसीय वरीयतामा नेपाल १४औँ तथा यूएई १९ औँ नम्बरमा छ । आजको खेलमा दर्शकलाई नि:शुल्क प्रवेश छ ।