काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देश र जनता, स्थिरता र सुशासनको पक्षमा काम गर्नुको कुनै विकल्प नरहेको बताउनुभएको छ । सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री (प्रचण्ड) ले यस्तो बताउनुभएको हो ।
उहाँले यस पटक राम्रो काम भन्दा नगर्ने र नराम्रो काम गर्न दिँदै नदिने नीति लिएको बताउनु भयो । उहाँले बेथितिहरु रहेपनि त्यसलाई नियन्त्रण गरेर लैजाने कुरामा प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले देश आर्थिक रुपमा केही अप्ठ्यारोमा भएपनि आर्थिक संकट र देश संकटमा नरहेको बताउनु भयो ।
देशको अफ्ठ्यारोलाई सम्हाल्न आफू सक्षम रहेको पनि उहाँले बताउनु भयो । सबै मिलेर काम गर्ने हो भने देशको मुहार फेर्न समय नलाग्ने बताउँदै प्रधानमन्त्री दाहालले आगामी एक महिनामा न्युनतम साझा कार्यक्रम मन्त्रालयमा ल्याउनका लागि कार्ययोजना प्रस्तुत गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘यो पटक हामीलाई राष्ट्र र जनताको पक्षमा, स्थिरता र सुशासनको पक्षमा जानुको कुनै विकल्प छैन । हामीले यो पटक राम्रो काम गर्ने, राम्रो काम बाहेक गर्दै नगर्ने, गर्नै नदिने भनेका छौँ । धेरै बेथितिहरु छन्त्य सलाई नियन्त्रण गरेर लैजाने प्रतिबद्धताका साथ हामी छौँ । न्युनतम साझा कार्यक्रममा सबै दलका चुनाव बेलाका घोषणापत्रहरु संकलन गरेर साझा कुराहरु निकालेर राखेका छौँ । देश केही आर्थिक रुपले अफ्ठ्यारोमा छ ।’
उहाँले अगाडि थप्नुभयाे, ‘राजनीतिक रुपले पनि अफ्ठ्यारोमा छ भन्ने गरिन्छ तर देश संकटमा छ भन्नेकुरा होइन । हामी देशलाई सम्हाल्ने ठाउँमा छौँ । अर्थतन्त्र सम्हाल्ने ठाउँमा नै छ । सबै मिलेर काम गर्दा देशको मुहार फेर्नसक्छौँ । विश्वासको मतपछि यी कार्यक्रमहरु दृढताका साथ कार्यान्वयन गर्नेछौँ । सबै सचिवज्युहरुले यो कार्यक्रम एक महिनाभित्र कसरी आफ्नो मन्त्रालयमा ल्याउने भन्नेबारेमा कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिन्छु ।’ प्रधानमन्त्री (प्रचण्ड) ले जनता समाजवादी पार्टीले पनि आफ्नो सरकारलाई विश्वासको मत दिने जानकारी दिएको बताउनु भयो ।