हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अग्रमोर्चाको सुरक्षा निकायको रुपमा प्रहरी संगठन रहेको भन्दै उहाँले अपराध अनुसन्धानमा नेपाल प्रहरी सक्षम रहेको बताउनुभयो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६८ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले शान्ति सुरक्षा र अमनचयनमा नेपाल प्रहरीले खेलेको भूमिकाप्रति उच्च सम्मान रहेको व्यक्त गर्नुभयो ।
प्रहरी संगठनलाई समय सापेक्ष रुपान्तरण गर्दै अझ सुदृढ बनाउनु पर्नेमा जोड दिदैं नागरिकले सबैभन्दा पहिला प्रहरीलाई खोज्ने हुदाँ प्रहरीप्रतिको विश्वास जन मानसमा रहेको बताउनुभयो । विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरुलाई सम्मान व्यक्त गर्दै उहाँले देशको विभिन्न आन्दोलनहरुमा अग्रभागमा शान्ति सुरक्षाको लागि भूमिका निर्वाह गर्ने प्रहरी संगठनप्रति आभार व्यक्त गर्नुभयो । आफुहरुले संविधानमा रहेको अधिकार क्षेत्रमा रहेर काम गर्दा संघीय कानुनले विभिन्न बाधा व्यवधान देखाएकाले छिट्टै प्रहरी समायोजनले समस्या समाधान हुने बताउनुभयो । प्रदेश सरकारको मातहतमा प्रहरी संगठन आएपछि मातहतका निकायलाई रुपान्तरण गर्दै लैजान सजिलो हुने बताउनुभयो ।
पछिल्लो समय सामाजिक सञ्जालहरुले सकारात्मक भन्दा पनि नकरात्मक प्रचारलाई बढी प्राथमिकता दिएको भन्दै यसले सुरक्षा निकायमा चुनौति थपिएको बताउनुभयो । प्रहरी सेवालाई संख्यात्मक मात्र होइन प्रविधिको प्रयोग गरेर अपराध नियन्त्रण गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी अस्पतालको निर्माण बुहवर्षिय आयोजनाको रुपमा अगाडी बढेको बताउँदै यसका लागि चाल आवबाटै बजेट छुट्याइएको बताउनुभयो ।
सोही अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पनि प्रदेशको शान्ति सुरक्षामा प्रहरी संगठनले खेलेको भूमिकाप्रति उच्च सम्मान व्यक्त गर्दै सबैको त्याग तपस्या र रगत बगाएर ल्याइएको व्यवस्थालाई अपनत्व गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्व प्रहरी हवल्दार डम्बर बहादुर सापकोटा(खत्री)लाई सम्मान गरिएको थियो भने प्रदेश प्रहरीका उत्कृष्ट कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको थियो । साथै विभिन्न स्थानीय तह, समाजसेवी, सञ्चारक्षेत्र र संघसंस्थालाई सम्मान गरिएको थियो ।
कार्यक्रम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको अध्यक्षतामा भएको थियो । उहाँले ६८ औं प्रहरी दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै शान्ति सुरक्षा र अमनचयनमा प्रहरी कटिवद्ध लागिरहेको बताउनुभयो ।