file photo

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कप क्रिकेटको आज हुने फाइनल खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिने भएको छ । हिजोको खेलमा साधारण टिकट २ सय रुपैयाँ राखिएको थियो । तर वर्षाको कारण फाइनल खेल पूरा हुन नसकेपछि आज हुन लागेको हो । ‘रिजर्भ डे’ का रुपमा खेल सारिएपछि दर्शकलाई प्रवेश निःशुल्क गरिएको हो ।
आज यूएईले बिहान ९ बजे २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन जोडेको अवस्थाबाट नै खेल सुरु गर्नेछ । तर आज पनि वर्षाको सम्भावना छ । आज खेल पूरा नभएर नतिजा आउन सकेन भने सुपर ओभरमा जानेछ । यदि सुपर ओभर पनि हुन सकेन भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताका आधारमा नेपाल एसिया कपमा पुग्नेछ । नेपाल एकदिवसीय वरीयतामा १४औँ र यूएई १९औँ स्थानमा छ । यो खेलको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।