फरार सांसद लक्ष्मी महत्तो कोइरीको बिरामी बिदाबारे संसद्को अर्को अधिवेशनमा निर्णय हुने भएको छ । सभामुख देवराज घिमिरेले कोइरी बाहेकका अरु सांसदहरुको बिरामी बिदा स्वीकृत भएको जानकारी दिँदै सांसद कोइरीको बारेमा विभिन्न विषयहरु उठेकाले आउँदो अधिवेशनमा कानुनअनुसार निर्णय हुने जानकारी दिनुभएको हो ।
प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख घिमिरेले माओवादी सांसद वर्षमान पुन, कांग्रेस सांसदहरु चन्द्र भण्डारी, विनाकुमारी थनैत र मनोरमा शेरचनको बिरामी बिदा सदनले स्वीकृत गरेको जानकारी दिनुभयो । यसअघि फरार रहेका कोइरीलाईसमेत बिरामी बिदाको सूचीमा राखेको भन्दै कांग्रेस, माओवादी केन्द्र, रास्वपालगायत दलका सांसदले विरोध गरेका थिए । प्रतिनिधि सभाको पहिलो अधिवेशन गएरातिदेखि अन्त्य भइसकेको छ ।