निर्माण व्यवसायीले विभिन्न योजनाको काम सम्पन्न गरे पनि भुक्तानी नपाएकाे भन्दै मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् । काम गरेको डेढ वर्षपछि पनि भुक्तानीको छाँटकाँट नदेखिएपछि निर्माण व्यवसायीले मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई थुनेका हुन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजनाको विकास निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै निर्माण व्यवसायीले मन्त्रालय पुगेर सचिवको कार्यकक्षमा ताला लगाएर प्रदर्शन गरेका छन् । यसका साथै निर्माण व्यवसायीले सचिवको कार्यकक्ष अगाडि फोहोरसमेत थुपारेका हुन् ।
गएकाे आर्थिक वर्षहरूमा प्रदेश सरकारको दर्जनौँ विकास निर्माणको काम गरेका गरे पनि साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकोले बाध्य भएर आज सचिवलाई नै कार्यकक्षमा थुनेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताउनुभयो । उहाँले आफूहरूले काम सम्पन्न गरेको वर्षाैँ बितिसकेको अवस्थामा अब बैंकको ब्याज तिर्नसमेत समस्या भइरहे पनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो गर्नुभयो ।
बैंकको ब्याज महिनाको ८० हजार रुपैयाँ तिर्न परिरहेको उहाँले बताउनुभयो । विभिन्न ३८ वटा योजनाको ६० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको निर्माण व्यवसायीले बताएका छन् । यसमा अन्य मन्त्रालयहरूमा गरेको काम पनि रहेको छ । मधेस प्रदेश सरकारका अन्य मन्त्रालयहरूको पनि विभिन्न उपभोक्ता समितिको झन्डै एक अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनीहरूकाे भनाइ छ । उज्यालोबाट