हेटौंडा । नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध ६८ रनको जित निकाल्दै
समूह चरणको अन्तिम खेलअगावै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालले दिएकाे १ सय ५८ रनकाे मध्यम लक्ष्य पछ्याएकाे कतार २५ ओभर १ बलमा ८९ रन बनाउँदा अलआउट भयाे । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, साेमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयाे । नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिए । 
नेपाल ४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेकाे हाे । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएकाे थियाे भने तेस्राे खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । यही समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।
यस्तै समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगिसकेकाे छ । अहिले भइरहेकाे हङकङ र कुवेतबीचकाे खेलकाे विजेता याे समूहबाट सेमिफाइनलमा पुग्ने अर्काे टाेली बन्नेछ ।  
प्रतियोगिताकाे पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । 
सेमिफाइनल शनिवार हुनेछ । यस्तै फाइनल सोमवार हुनेछ । प्रतियोगिताकाे विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।