शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज बुधवार भएका खेलमा सङ्कटा क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा क्लबले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले हरायो । सङ्कटाका लागि जुनियर एनकेनगुए र मनिष डाँगीले गोल गरे । एनआरटीका निकोलस सेर्जी सङले एक गोल फर्काए ।
आजै च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ५–३ गोलले हरायो । हिमालयन शेर्पाका लागि सत्यम शर्माले २ तथा सुदीप श्रेष्ठ, विश्वास श्रेष्ठ र अबायोमी फाकुन्लेले गोल गरे । एपीएफका अर्मान्ड विडोम, सनिश श्रेष्ठ र प्रदीप लामाले गोल गरे पनि टोलीलाई जिताउन सकेनन् । लिगमा अहिले मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच खेल भइरहेको छ ।