मकवानपुर – पुर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानरगपालिका–१५ स्थित चुरियामाईबाट प्रहरीले शुक्रबार लागुऔषध नाईट्राभेटसहित ३ जनालाई पक्राउ गरेको छ । वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह १३७२ नम्बरको अटोलाई शंका लागि सुरक्षाजाँच गर्दा अटोमा लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्राभेट २९९ ट्यावलेट फेला पारि ३ जनालाई पक्राउ जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक रामचन्द्र घिमिरेका अनुसार पक्राउ पर्नेमा कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका–१८, भगतपुर घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका–१ ब्रिटिशक्याम्प रोड बस्ने २७ वर्षीय सन्तोष सिंह, अटोमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने बर्ष ३५ वर्षीय ईश्वर श्रेष्ठ र अटोमा सवार सोहि ठाँउका ३४ वर्षीय रमेश घले रहेका छन् । लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।











