जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बिहीबार जिल्लाको बकैया गाउँपालिकामा अनुगमन गरेको छ । स्थानीय तहहरुको चालु आर्थिक वर्षको योजना, आर्थिक, सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरणलगायत क्षेत्रमा भए÷गरेका कार्यहरुको अनुगमन गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकाको चालु आवको प्रगति, बालमैत्री स्थानीय तहको अवस्था, शिक्षा, स्वास्थ्य, पशुलगायत अन्य सामाजिक क्षेत्र लगातका विषयमा जानकारी लिएको थियो ।

अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, प्रमुख प्रशासकिय अधिकृत महेश श्रेष्ठ, योजना शाखा प्रमुख मिलन दुला, स्वास्थ्य शाखा प्रमुख फणिकमणि प्याकुरेललगायतले समग्र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो क्रममा गाउँपालिकामा चालु आर्थिक वर्षको हालसम्म चालु तर्फ करीब ५७ प्रतिशत र पुँजीगत तर्फ ३५ प्रतिशत बजेट खर्च भएको जानकारी दिइएको छ । अनुगमन टोलीमा जिल्ला समन्वय अधिकारी वासुदेव खतिवडा, सदस्यहरु खड्गबहादुर पुलामी, विष्णुमाया थपलीया, नायबसुब्बा उपेन्द्रनाथ पोखरेल, लेखापाल दिपिका खनाल, कम्प्युटर अपरेटर बिवश अधिकारी, खरिदार अमृता खनाललगायतको सहभागिता थियो ।











