अमेरिका र यूएई आईसीसी विश्व कप क्वालिफायरका लागि छनाेट भएका छन् । विश्व कप क्वालिफायर छनाेटमा शीर्ष २ मा रहँदै अमेरिका र यूएईले आउँदाे जुन–जुलाईमा जिम्बावेमा हुने विश्व कप क्वालिफायर खेल्ने भएका हुन् । नामिबियामा भइरहेकाे प्रतियाेगिताकाे अन्तिम २ खेलअघि नै शीर्ष २ टाेलीकाे टुङ्गाे लागेकाे हाे । प्रतियोगितामा अमेरिका, यूएई, पपुवा न्युगिनी, जर्सी, क्यानडा र नामिबिया छन् ।
अमेरिका ५ खेलमा ८ अङ्कका तालिकाकाे शीर्ष स्थानमा छ । यूएई ४ खेलमा ६ अङ्कसहित तेस्रो स्थानमा छ । यूएईले आज जर्सीसँग खेल्दैछ । यूएई याे खेलमा हारे पनि तालिकाकाे दाेस्राे स्थानमा रहेकाे नामिबियासँग समान ६/६ अङ्क हुनेछ । ‘हेड टु हेड’ मा यूएई अघि हुँदा उसले विश्व कप क्वालिफायरमा छनाेट भएकाे हाे । यूएईले ४ वर्षका लागि एकदिवसीय मान्यता पनि प्राप्त गरेकाे छ ।
विश्व कप क्वालिफायरमा लिग–२ का शीर्ष ३ टोली नेपाल, ओमान र स्कटल्यान्डसँगै सुपर लिगका पुछारका ५ र प्लेअफका शीर्ष २ गरी १० टोली हुनेछन् । सुपर लिगबाट नेदरल्यान्ड्स, श्रीलङ्का, वेस्टइन्डिज र जिम्बावेले विश्व कप क्वालिफायर खेल्ने पक्का भएको छ । आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोलीले विश्व कप क्वालिफायर खेल्नुपर्ने हुन्छ । विश्व कप क्वालिफायरमा १० टोलीलाई २ वटा समूहमा विभाजन गरिनेछ । सुपर ६ हुँदै शीर्ष दुई टोलीले आउँदाे अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्व कप खेल्न पाउनेछन् । आयाेजक भारतसहित (सुपर लिगका शीर्ष ८ टिम) न्युजिल्यान्ड, इङ्ग्ल्यान्ड, बङ्गलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान एकदिवसीय विश्व कपमा छनोट भइसकेका छन् ।