मकवानपुर – हेटौंडामा आजबाट स्वरोजगारमूलक ३९० घण्टे निशूल्क तालिम सुरु भएको छ । बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोग तथा जिल्ला युवा परिषद मकवानपुरको आयोजनामा चार प्रकारका स्वरोजगारमूलक तालिम सुरु भएको हो ।
तालिमको आज एक कार्यक्रमकाबीच बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै मन्त्री मोक्तानले तालिम लिएर व्यावसायीक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले उपाध्यक्ष बढ्दो बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न युवाहरुलाई सीप सिकाई उद्यमसँग जोड्ने प्रयास गरिएको बताउनुभयो । श्रम बजारमा सक्षम र दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन सके रोजगारीका लागि युवा पुस्ता विदेशिनुपर्ने बाध्यतामा कमि हुने अपेक्षा गरिएको उहाँको भनाई छ । जिल्ला युवा परिषद् मकवानपुरका अध्यक्ष सुमन पाख्रिनको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।
चार प्रकारका ३९० घण्टे निशूल्क तालिममा जिल्लाका ९० जना युवाहरु सहभागी छन् । तालिममा वारिस्टा (कफी बनाउने) मा २५ जना, इण्डष्ट्रियल ईलेक्ट्रिसियनमा २५ जना, बारबर (कपाल काट्ने) मा २० जना र मण्टेश्वरीमा २० जना गरी ९० जना सहभागी रहेका छन् । हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र, कान्तिपुर बहुप्राविधिक शिक्षालय र नारायणी प्राविधिक शिक्षालयले तालिममा सहजिकरण गरेको छ ।