मकवानपुर – मकवानपुर जिल्लास्तरीय दोस्रो अन्तरपालिका पुरुष नकआउट फुटबल प्रतियोगितामा भीमफेदी गाउँपालिकाले विजयी सुरूवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा कैलाश गाउँपालिकालाई ट्राईबेकरमा पराजित गर्दै भीमफेदीले विजयी यात्रा सुरु गरेको हो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा आजबाट हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगितामा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले २–२ गोल बराबरी खेलेका थिए । त्यसपछि भएको पेनाल्टी सुट आउटमा भीमफेदीले कैलाशलाई ४–२ ले पराजित गरेको हो ।

प्रतियोगितामा पहिलो हाफको छैठौं मिनेटमा भीमफेदीका सविन घलेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको १२ औं मिनेटमा कैलाशका सुमन सिं स्याङतानले खेल बराबरीमा ल्याए । पहिलो हाफको २४औं मिनेटमा भीमफेदीका श्रीजन कुमार दानीले गोल गर्दै टिमलाई पुन अग्रता दिलाए पनि दोस्रो हाफको ७३औं मिनेटमा मिनेटमा कैलाशका बिकल मोक्तानले गोल गर्दै खेल बराबरीमा पु¥याए । त्यसपछि दुवै टोलीले पटक–पटक गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन र खेल ट्राईब्रेकरमा धकेलियो ।
ट्राईब्रेकरमा भीमफेदीका रामराज शाही, श्रीजन कुमार दानी, समर दंगाल र अर्पण घलानले गोल गर्दा, कैलाशका अजय गुरुङ र सुर्य थिङले मात्र गोल गर्न सके भने, साजन जिम्बा र बिकल मोक्तानले गरेको प्रहार पोष्ट बाहिर गयो । आजको प्रतियोगिताको म्यान अफ दि म्याच भीमफेदीका श्रीजन कुमार दानी घोषित भए ।

आगामी चैत्र ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोली अईतबार दुई खेल हुनेछ । भोली आइतबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेलकुदको विकास तथा खेलाडि उत्पादन गर्ने उदेश्यका साथ बागमती प्रदेशमै एकमात्र जिल्ला समन्वय समिति मकवानपुरले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताबाट उत्कृष्ठ २४ खेलाडी छनौट गरेर बागमती प्रदेश खेलकुदमा सहाभागि गराईने बताईएको छ । पहिलो संस्करणको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले जितेको थियो । आजको उद्घाटन खेल जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षता एवम् बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । उद्घाटन कार्यक्रममा बगमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिसस उपप्रमुख सानुकाजी लुईटेललगायत विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थिती थियो ।