हेटौंडाः सवारी दुर्घटना हुँदा हेटौंडामा एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ बसामाडि लेवटमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको हो । दुर्घटनामा अर्का एकजना गम्भिर घाइते भएका छन् ।
आज साँझ करीब ७ः०० बजे मोटरसाईकल र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार स्थानीय ३० बर्षीय सौरभ सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमै सवार सोही स्थानका १८ बर्षीय अस्मित सुनार गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको चुरेहिल हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । घाईते सुनारको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक र हेटौँडाबाट बसामाडितर्फ जाँदै गरेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ ।