हेटौंडा, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको ब्यबस्था गर्नुपर्ने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरुसंग भएको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई जरिवानाको व्यबस्थामा कडाई गर्नुपर्ने पनि बताउनुभयो । उहाँले नश्चित समय ठेकेदारले आयोजना मर्मत गर्ने निति ल्याउन पनि प्रदेश सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । मोबिलाईजेसन रकम लिएर पनि कतिपय ठेकेदारले काम नगरेको भन्दै उहाँले भन्नुभयो–‘ मोबिलाईजेसन रकम लिएर कतिपय ठेकेदार सम्पर्क बाहिर रहने गरेका छन् । अव मोबिलाईजेसन रकम बिनै काम गर्ने निति ल्याउने विषयमा छलफल भईरहेको छ । ’

यसैगरी व्यक्तिलाई मुआब्जा दिएर नयाँ संरचना बनाउन नसकिने पनि उहाँले बताउनुभयो । मुआब्जा दिएर प्रदेश सरकारले सडक बनाउन नसक्ने पनि उहाँले स्पष्ट पार्नुभयो । अबस्था हेरेर अब सरकारले मुवाब्जा दिने हैन लिने लिनुपर्ने अवस्था आउन थालेको उहाँको भनाई थियो ।

सरकारले बनाउने विभिन्न संरचना निर्माण संगै विकास निर्माण प्रकृया अगाडि बढ्ने उहाँले बताउनुभयो । राज्यले लगानी गरी सडक लगायतका संरचना बनाउँदा ब्यक्तिको सम्पत्तिको मुल्याँकन बढ्ने हुँदा सोहि अनुपातमा राज्यलाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । मुआब्जाका बखेडा झिक्ने ठाउँमा प्रदेश सरकारले लगानी गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो । यस्ता क्रियाकलापले राज्य कमजोर हुने र व्यक्ति धनी हुँदै जाने परिपाटि बन्ने उहाँको भनाई थियो ।
अहिले प्रदश सरकारले ट्रयाक खोलिसकेको बताउँदै अब विकास गति तिब्र रुपमा अगाडि बढ्ने बताउनुभयो । ३ नम्बर प्रदेश सरकार नमूनाका रुपमा लैजान लागेको जानकारी दिदैं महत्वपूर्ण रुपमा रहेको प्रदेशमा उदाहरण हुने गरि काम गर्न पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश निति तथा योजना आयोगका सदस्य डा। रामचन्द्र ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब कौशलकिशोर झा सहभागि हुनुहुन्थ्यो ।