मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका पदाधिकारीहरुको विदाई गरिएको छ । बिहीबार कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै जिसस प्रमुख, उपप्रमुखलगायत सदस्यहरुलाई विदाई गरेको हो ।

जिससको हलमा आयोजित कार्यक्रममा बोल्दै निवर्तमान प्रमुख रघुनाथ खुलालले ५ वर्षेकार्यकाल सुखद रहेको बताउनुभयो । आफ्नो पाँच वर्षे कार्यकाल सुखद रहेको बताउँदै उहाँले यसमा कार्यालयका कर्मचारी, सरकारी तथा गैरसरकारी संघ संस्था, राजनैतिक दललगायत सम्पूर्ण मकवानपुरवासीको साथ र सहयोग प्राप्त भएको बताउनुभयो । सिमित स्रोत साधन र ऐन नियमको अभावमा पनि जिसस मकवानपुरबाट थुप्रै कामहरु भएको भन्दै आगामी दिनमा समेत संस्थाबाट त्यस्तै हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ आउने पदाधिकारीहरुले संस्थाको साख नगिरने गरि काम गरुन भन्ने चाहना रहेको र यसमा आवश्यक सहयोग गर्न हरदम तत्पर रहेको समेत बताउनुभयो । उहाँले नयाँ आउने पदाधिकारी र कर्मचारीले सकारात्मक भएर काम गरेमा पक्कै सफलता प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीलगायत अन्य सदस्यहरुले पनि आ–आफ्नो पाँच वर्षको अनुभव आदान प्रदान गर्नुभएको थियो । जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, जिसस सदस्यहरु देवराज रिमाल, गणेशकुमारी प्रधान, सिता अधिकारी, बुद्धिबहादुर मुक्तान, चित्रबहादुर बलामी, सरिता विक, स्वकीय सचिव आशाकाजी श्रेष्ठलगायत कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।