file photo

अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । देशको पूर्वी र मध्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक घण्टामा इलामको कन्याम, नुवाकोटको ककनी, सिन्धुलीको केही ठाउँ, दाङको नयाँ बस्ती, म्याग्दीको गुर्जाखानीलगायतका ठाउँमा ठूलो पानी परेको छ । अरू ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ ।
पानी पार्ने मौसमी प्रणाली अहिले पश्चिमतिर सर्ने क्रममा रहेकाले आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । स्थानीय रूपमा बनेको बादल र न्यून चापीय रेखाको प्रभावका कारण अब केही दिन मनसुन सक्रिय हुनेछ । केही दिनयता राम्ररी पानी नपरेर गर्मी बढेको थियो । भोलि बुधवार लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् । देशका अरू ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।