मकवानपुर– ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले शैक्षिक क्षेत्रमा बढ्दो राजनीति चिन्ताको विषय भएको बताउनुभएको छ । हेटौँडा–१८ फुर्केचौर स्थित गोरक्षनाथ माविमा प्राविधिक शिक्षालय संचालानार्थ आजबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले राजनीतिबाट शैक्षिक क्षेत्रलाई टाढै राख्नुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले पेशागत संगठनहरु शिक्षकहरुको हक अधिकारको संरक्षणका लागि गठन भएपनि अहिले त्यसलाई राजनीति गर्ने स्थानको रुपमा विकास गर्न खोजिएको भन्दै शिक्षकहरुले राजनीति नभई गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । विद्यालयमा भौतिक गुणस्तर मात्रै नभई शैक्षिक गुणस्तरमा पनि सुधार हुनुपर्नेमा जोड दिंदै उहाँले प्रदेश सरकार त्यसतर्फ अग्रसर भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षालयको अवधारणा अघि सारेर काम सुरु गरिरहेको समेत बताउनुभयो ।
कार्यक्रममा महायज्ञ मूल समारोहका संयोजक एवम् ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले विद्यालयको शैक्षिक एवं भौतिक सुधारबाटै सामाजिक रुपान्तरणको काम अघि बढ्ने बताउनुभएको छ । यसका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिंदै उहाँले विकासको काममा सबै एकमत हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सप्ताह महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्नुहुने छ ।