मकवानपुर – कोरोना संक्रमित भई उपचाररत बिरामीको मानसिक तनाव कम गर्ने तथा मनोबल उच्च बनाउन मकवानपुरका विभिन्न आइसोलेसनमा पुगेर सांगीतीक कार्यक्रम अभियान सुरु गरिएको छ । कोरोना संक्रममित भई आइसोलेसनमा उपचाररत बिरामीहरुको मनोबल उच्च बनाउन तथा मानसिक तनाब कम गर्ने उदेश्यका साथ राष्ट्रीय जनसाँस्कृतिक महासंघ मकवानपुरले जिल्लाका विभिन्न आइसोलेसनमा पुगेर सास्कृतिक कार्यक्रम अभियान सञ्चालन गरेको हो ।
बिरामीहरु एकै ठाउँमा बस्दा मानसिक रुपमा असर पर्ने हुँदा असर कम गर्ने तथा उनिहरुको मनोबल उच्च बनाउने उदेश्यका साथ अभियान सुरु गरिएको राष्ट्रीय जनसाँस्कृतिक माहासंघका केन्द्रीय सदस्य आशाकाजी श्रेष्ठले बताउनुभयो । महासंघले अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार आइसोलेसन र मनहरी स्थित मनहरी कोभिड अस्पतामा कार्यक्रम आयोजना गरिसकेको उहाँले बताउनुभयो । यस्तै भोली आईतबार भीमफेदी स्थित भीमफेदी आइसोलेसनमा कार्यक्रम आयोजना गरिने समेत उहाँले बताउनुभयो । उहाँले अभियान अन्तरगत जिल्लाभरीका आइसोलेसनमा पुग्ने योजना रहेको समेत जानकारी दिनुभयो ।

आइसोलेसनलाई खाद्यान्न सहयोग

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरले मकवानपुरको भीमफेदी गाउँपालिकास्थित आइसोलेसन वार्डलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । शनिबार महासंघ मकवानपुरले भीमफेदी आइसोलेसन पुगेर चामल, चिउरा, दाल, तेल, अण्डा, चाउचाउ, बिस्कुट, पानी, साबुन सहयोग गरेको हो ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । खाद्यान्न सामग्री हस्तान्तरण गर्न महासंघका मकवानपुर जिल्ला अध्यक्ष चक्रधर विडारी, नेकपाका केन्द्रीय सदस्य रामेश्वर राना, मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, महासंघका केन्द्रीय सदस्य विष्णुहरि पण्डित र राजेन्द्र लामिछाने पनि आइसोलेसन वार्ड पुग्नु भएको थियो । यसअघि पनि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरले हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।