मकवानपुर – उत्तरी मकवानपुरको थाहा नगरमा बागमती प्रदेश सरकार र सहकारीको लगानीमा निर्माणाधिन शीत भण्डार (कोल्ड स्टोर) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको ७० प्रतिशत र सहकारीको ३० प्रतिशतको लगानीमा निर्माण भईरहेको कोल्डस्टोर चालु आर्थिक वर्षबाट सञ्चालनमा आउने थाहा नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकारले बजेटमा घोषणा गरेको एक जिल्ला एक शीतभण्डारको कार्यक्रम अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा शीतभण्डार केन्द्रको निर्माण भइरहेको हो । थाहानगरपालिका वडा नम्बर ३ स्थित १० रोपनी क्षेत्रफलमा निर्माणधीन शीतभण्डार प्रदेश सरकार र सहकारीको लगानी एवम् थाहा नगरपालिकाको समन्वयमा निर्माण भईरहेको तथा शीतभण्डारको सञ्चालन भने सहकारी मार्फत हुने थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जानकारी दिनुभयो ।
२०७६ कात्तिक ९ गतेबाट निर्माणको कार्य सुरु भएको शीतभण्डार १५ करोडमा ठेक्का आव्हान भई ११ करोड ४७ लाखमा सम्झौता भई निर्माण कार्य सुरु भएको हो । १ हजार ७ सय मेट्रिक टन क्षमताको उक्त शीत भण्डार निर्माणका लागि प्रदेश सरकारको ८ करोड ३ लाख र उत्तरी क्षेत्रका २७ वटा सहकारीहरुको ३ करोड ४४ लाख लगानी रहेको छ । उक्त कोल्डस्टोरबाट तरकारीको पकेट क्षेत्रका रुपमा रहेको थाहा नगरपालिका र कैलाश गाउँपालिकाको गोगने डाँडखर्क, मार्खु र फखेल क्षेत्रका कृषकहरु लाभान्वित हुने छन् । शीत भण्डार निर्माण भएपछि उत्तरी क्षेत्रका किशानले बढी मूल्य तिरेर अन्यत्र भण्डारण गर्नुपर्ने समस्याको अन्त्य हुने र कृषकको ठुलो रकम समेत बचत हुने मेयर बिष्टले बताउनुभयो ।
तरकारीबालीमा ख्याती प्राप्त थाहा नगरपालिका क्षेत्रमा योसंगै सानाठुला ४ वटा कोल्ड स्टोर (शीत भण्डार) हुने भएको छ । वडा नम्बर ३ मा निर्माणाधीन शीत भण्डारलगायत थाहा नगरपालिका वडा नम्बर–६ मा साना किसान कृषि सहकारी संस्थाले ३ वर्षअघिबाट शीतभण्डार संचालन गर्दै आएको छ । नेपाल सरकारको २० लाख र सहकारीको करिब ६० लाख रुपियाँको लागतमा कोल्ड स्टोर निर्माण भएको छ । ५५ टन क्षमताको सो शीत भण्डारमा मुख्य गरी आलु राख्ने गरिएको छ । वार्षिक करिब तीनसय किसानले लाभ लिइरहेको उत्त शीतभण्डारमा कृषि जे.टि.ए. एकजना सहित दुईजनाले पूर्णकालिन र ६ जनाले आशिंक रोजगार समेत पाएका छन् ।
त्यस्तै थाहा–२ मा निजी क्षेत्र मैना कृषि सेवा प्रालिले शीत भण्डार संचालनमा गरेको छ । ३ करोडको लगानीमा चेम्बर प्रविधि मार्फत कोल्ड स्टोर सञ्चालनमा आएको छ । ३ रोपनी क्षेत्रफल ओगटेको उक्त शीतभण्डारमा १२ हजार बोरा क्षमताको छ । शीत भण्डारमा आलु, प्याज र गोलभेडाको भण्डारण गर्न सकिन्छ । शीत भण्डारबाट पाँचजनाले प्रत्यक्ष रोजगार पाएका छन्, भने थाहानगरका करिव एक हजार किसान लाभान्वित भएका छन् । यस्तै थाहा नगरपालिका वडा नम्बर ४ मा आ.व. २०६०÷०६१ बाट निर्माण थालिएको ऋषेश्वर शीत भण्डार भने अझै पूर्ण हुन सकेको छैन । निजी क्षेत्रको समेत लगानीमा निर्माण प्रारम्भ भएको उक्त शीत भण्डार अलपत्र अवस्थामा रहेको छ ।