मकवानपुर – करीब १४ वर्ष पछि आज त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त देश भरका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । देशभरका साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा नयाँ नेतृत्व चयनका लगि निर्वाचन हुन लागेको हो ।
निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।
यसैबीच आज हुन लागेको स्ववियु निर्वाचनअन्तर्गत् मकवानपुरका ७ वटा क्याम्पसमा आज निर्वाचन हुँदैछ । मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो । मकवानपुरको पालुङ बहुमुखी क्याम्पसमा यसअघि नै सर्वसम्मत स्ववियुको नेतृत्व चयन भइसकेको छ ।
मकवानपुरका सबै क्याम्पसमा दुई वटा प्यानल बनेर चुनावी प्रतिस्पर्धा भएको छ । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लब नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को एउटा प्यानल रहेको छ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानमा भने ३ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् ।
करिब १४ वर्षपछि हुन लागेको निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भएमा १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म विद्यार्थी भएमा १९ जनाको कार्यसमिति र तीन हजार एकदेखि पाँच हजारसम्म विद्यार्थी भएमा २१ सदस्यीय कार्यसमिति हुनेछ ।