प्रदूषणका कारण विश्वमा बर्सेनि झन्डै ९० लाख मानिसको ज्यान जाने गरेको संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनले देखाएको छ । हिजाे मङ्गलवार प्रकाशित प्रतिवेदनमा प्रदूषण नियन्त्रणका लागि तत्काल प्रभावकारी काम नगरेमा निटक भविष्यमै ठूलो क्षति बेहोर्नुपर्ने उल्लेख रहेको रोयटर्सले जनाएको छ । रोयटर्ससँगको कुराकानीमा प्रतिवेदनका लेखक डेभिड बायडले प्रदूषण र विषाक्त पदार्थहरूले निम्त्याउने जोखिम व्यवस्थापन गर्ने अहिलेका प्रयासहरू असफल भइरहेका र यसले स्वच्छ, स्वस्थ र दिगो वातावरणसम्बन्धी मानव अधिकारको चौतर्फी उल्लङ्घन भइरहेको बताउनुभएको छ ।
प्रतिवेदनमा प्रदूषणका कारण हुने मृत्यु कोरोना सङ्क्रमणका कारण हुने भन्दा बढी रहेको पनि उल्लेख छ । कोरोना सुरु भएको दुई वर्षमा साढे ५८ लाख जनाभन्दा धेरैको ज्यान गएको छ भने प्रदूषणका कारण एक वर्षमै ९० लाख जनाको ज्यान जाने गरेको प्रतिवेदनमा भनिएको छ । यस्तै विषाक्त रसायनका कारण ठूलो सङ्ख्याका मानिसले स्वास्थ्यमा गम्भीर समस्या झेलिरहेका पनि प्रतिवेदनमा उल्लेख छ । विभिन्न देश तथा कम्पनीहरूले उत्सर्जन गरेका विषादी, प्लास्टिक तथा विद्युतीय फोहरका कारण बढी समस्या आएको छ । यस्ता फोहोरका विषयलाई धेरै हदसम्म बेवास्ता गरिएको पनि अध्ययनमा बताइएको छ । राष्ट्र सङ्घीय मानव अधिकार परिषद् (यूएनएचआरसी) ले आफ्नो वेबसाइटमा प्रतिवेदनको मस्यौदा राखेको छ । यूएनएचआरसीले स्वच्छ वायु र पानीलाई मानिसहरूको एउटा अधिकार भएको घोषणा गरेको छ ।