मकवानपुर । बागमती प्रदेशसभाको बैठक आव्हान गरिएको छ । यही फागुन १० गते बुधबार अपराह्न २ बजे बस्ने गरि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्य परामर्श समितिको सर्वदलीय बैठक बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
प्रदेशसभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्नुभएपछि उहाँलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । बागमती प्रदेशसभा सचिवालयमा दुई विधेयक आज दर्ता गरिएको सचिवालयले जनाएको छ । आज प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन, सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ दर्ता भएको सचिवालयले जनाएको छ ।