मकवानपुर । मनाङ मस्र्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइलनमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो ।
निकै नै प्रतिष्पर्धातमक खेलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा मनाङको तर्फबाट सरोज योञ्जन, विसन गुरुङ, सैजामोल हेडविनसन र आशिष गुरुङले गोल गरेका थिए । भने, एपीएफका तर्फबाट नवीन लामा र सुदिप सिख्रकारले मात्र गोल गर्न सफल भए । एपीएफका सनी श्रेष्ठको प्रहार गोलपोष्टको बारमा लागेर फर्कियो भने दीपेश धिमालको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले रोक्न सफल भएका थिए । आजको खेलको म्यानअफ दी म्याच मनाङका गोलरक्षक कार्की घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
मनाङले अब फाइनलमा हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल हिमालयन शेर्पा र क्यामरूनी टोली एभिनियरसँग भोली हुने छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् । गोल्डकपको फाइनल खेल फागुन १० गते हुनेछ ।












