हेटौँडा । बागमती सरकारका श्रम,रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले मकवानपुर–काठमाण्डौँ जोडने सुरुङमार्ग निर्माणको विषय प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएकाे छ । रेडीयो थाहा सञ्चारको १५ औँ वार्षिकोत्सवको समापन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले हेटौँडाबाट काठमाण्डौँ जोडन सुरुङमार्ग अति आवश्यक रहेको भन्दै प्रदेश सरकारले यो योजनालाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभयाे ।
बागमती प्रदेशमा प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले सरकारको प्राथमिकतामा राखेको योजनालाई त्यसपछिका सरकारले प्राथमिकतामा नराखेको भन्दै उहाँले अब सरकारले सुरुङमार्गको विषयलाई गम्भिरतापूर्वक लिएर अघि बढने बताउनुभयाे । सरकारले श्रम रोजगार तथा यातायात क्षेत्रको विषयमा उल्लेख्य काम गर्ने भन्दै मन्त्री श्रेष्ठले आफुले एक वर्षभित्र १० हजार युवालाई स्वरोजगारको तालिम दिएर सक्षम जनशक्ति तयार गर्ने काम गर्ने बताउनुभयाे । ‘स्किल मेनपावर’ भए रोजगारको लागि समस्या नहुने भन्दै मन्त्री श्रेष्ठले रोजगारको क्षेत्रमा प्रदेश सरकारले गम्भिरतापूर्वक कदम चाल्ने धारणा ब्यक्त गर्नुभयाे ।