हेटौंडा – प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवस आईतबार हेटौंडामा मनाईएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा मकवानपुरले सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो ।
प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता एवम् बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा बैंक बाहेक अन्य सबै व्यवसाय धरापमा परेको बताउनुभयो । मन्त्री श्रेष्ठले कोरोना कहर पछि नेपालको अर्थतन्त्रमा सुधार हुन नसकेको भन्दै बैंक बाहेक सबै व्यवसायको अवस्था धराशायी भएको बताउनुभयो । अन्य व्यवसायसँगै नेपालको पत्रकारिता व्यवसायलाई पनि गम्भीर असर परेको भन्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारले राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारिता क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।
पत्रकारिता क्षेत्र पनि धराशायी बन्दा पत्रकारहरू पनि अन्य व्यवसायका व्यक्तिहरूजस्तै पलायन हुने खतरा बढेको भन्दै सरकार चौथो अंगको विषयमा गम्भीर रहेको बताउनुभयो । पत्रकारिता क्षेत्रको माध्यमबाट मानिसहरूले सही सूचना पाउने, आफूहरूले सही सुझाव पाउने भन्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारले पत्रकारिताको क्षेत्रलाई महत्त्वको साथमा हेरेको बताउनुभयो । बागमती प्रदेश सरकारले पत्रकार कल्याण कोषमा ५० लाख दिने घोषणा गरिसकेको भन्दै मन्त्री श्रेष्ठले उक्त घोषणा कार्यान्वयनको लागि लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिब तथा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, पार्टीका उपसचिब तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बागमती प्रदेश युवा समितिका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाँई, प्रेस चौतारी नेपा बागमती प्रदेशका महासचिब प्रकाश दाहाल, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष धुर्ब अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतकाको आतिथ्यता रहेको थियो ।