पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका र आज सङ्कलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयाे । शाहीका अनुसार पहिचान नभएका शवको डिएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डिएनए भोलि नै काठमाडौँ पठाइने उहाँले बताउनुभयाे । ६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयाे ।
विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत
यसैबीच विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरूको शव गण्डकी अस्पतालमा राखिएको छ । सनाखत हुनेहरूमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् । यस्तै कोरियन नागरिक यु क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।