काठमाण्डाैं– सरकारले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि शेयरबापत दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । माघ ६ गते बसेको मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथ सुचना प्रबिधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाले साझाले निर्धारित समयमा बस खरिद गरी सञ्चालन गर्न नसकेकाले पहिले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो ।

यससंगै बैठकले विद्युतीय बसको प्राविधिक विवरण लागत अनुमानसहित सर्त समेत तय गरी विद्युतीय बस खरिद गर्नकालागि भौतिक पूर्बाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने र त्यसका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई ३ अर्ब दिने निर्णय भएको पनि मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा सुविधा सम्बन्धी मापदण्ड २०७६ स्वीकृत गरेको छ ।

सरकारले तेह्रथुम जिल्लामा कम्यूनिष्ट पार्टीको सदस्यको रुपमा गतिबिधी गर्दा २०१९ कार्तिक २९ गते प्रहरीको गोली लागि हत्या भएका स्वर्गीय नेत्र प्रसाद गुरागाईको योगदानको कदर गर्दै निजलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री बाँस्कोटाले मन्त्रीपरिषद बैठकले सुनकोशी मारिन डाईभर्सन बहुउद्धेशीय आयोजनालाई राष्ट्रिय गौरबशाली आयोजनाका रुपमा अगाडी बढाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको र त्यसकोलागि स्रोत सुनिश्चित गरी शीघ्र कार्यान्वयन गर्र्ने निर्णय भएको जानकारी गराउनुभयो ।

बैठकले पश्चिम एसियामा विकसित घटनाक्रमका सम्बन्धमा उक्त क्षेत्रमा रोजगारीमा रहेका नेपाली श्रमिकहरुको अवस्था बारे सुचना लिने र आवश्यक समन्वय श्रम तथा रोजगार मन्त्रालयले गर्ने निर्णय गर्नुसंगै विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्बी एसिया क्षेत्रको ७४ औं बैठक आगामी २०२१ सेप्टेम्बरमा नेपालमा आयोजना गर्न स्वीकृति दिएको पनि मन्त्री बाँस्कोटाले बताउनुभयो ।

मन्त्रीपरिषद बैठकले सामाजिक सुरक्षा नियमावली २०७६, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यबिधि २०७६ र बस्तुको प्रत्यक्ष बिक्री ब्यस्थापन तथा नियमन गर्ने नियमावली २०७६ स्वीकृत गरेको मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।