मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले समुदायलाई संक्रमणमुक्त बनाउन सचेतनामुलक अभियानमा लाग्न आग्रह गर्नुभएको छ । आईतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा कोरना भाईरस नियन्त्रण र रोकथामका विषयमा आयोजित छलफलमा उहाँले संक्रमणबाट जोगिने खालका सचेतनामुलक अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभएको हो ।
प्रमुख खुलालले कोरोनाको जोखिम कम गर्न समुदाय सचेत हुन आवश्यक रहेकाले सचेतना मुलक अभियानक सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले कोरोनाको जोखिम दिनानुदिन बढिरहेको अवस्थामा केही पनि होइन भन्ने खालका भ्रममा नपर्न र यस्तो नबुझ्न आग्रह गर्नुभयो । कोभिड–१९ केही पनि होइन भन्ने खालका भ्रम सिर्जना गर्ने, गलत तर्क गर्ने र समाजलाई जोखिमतिर उन्मुख गराउने खालका व्यक्तिले यस रोगको रोकथाम र नियन्त्रणमा चुनौती खडा हुने भएकाले यस्तो खालका भनाइमा चनाखो हुन र आफ्नो टोल, छिमेकलाई संक्रमणमुक्त बनाउन सचेतनामुलक अभियानमा लाग्न आग्रह गर्नुभयो । उहाँले समुदायमा संक्रमण गइसकेकाले यसबाट कसरी जोगिने भन्ने बारेमा व्यापक रुपमा टोल छिमेकमा सचेतना जगाउन, स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन साथै सुरक्षित भएर नियमित कार्यहरु सुचारु गर्ने विषयमा लाग्न आग्रह गर्नुभयो ।
छलफलमा सहभागिहरुले चार्डपर्व नजिकिदै गएकोले भिडभाड बढ्न सक्ने कुरालाई व्यवस्थित गर्नुपर्ने, अस्पतालमा भर्ना नलिने समस्या समाधान गर्नुपर्ने, बजारमा भएको मुल्य वृद्धिको नियन्त्रण गर्नु पर्ने, एम्बुलेन्स नपाउने समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँहरुले विषेश गरि समुदायमा संक्रमणाको जोखिम बढ्दै गएकाले समुदायमा जनचेतना जगाउने कुरामा व्यवस्थित भएर लाग्नु पर्ने बतानुभएको थियो । उहाँहरुले समुदायमा तिनै तहको सरकारको उपस्थिति सर्वसाधारणले महसुस गर्न नपाएको गुनासो समेत गर्नुभयो । उहाँहरुले स्थानिय तहका तल्लो निकायसंग समन्वय गरेर कार्य गर्दा कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी हुने बताउनुभएको थियो ।
छलफलमा ११ नम्बर वडा अध्यक्ष गोकर्ण पराजुलीले वडामा हालसम्म ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । जसमध्ये २२ जना निको भइसकेको र ३० जना अहिले होम आइसोलेसनमा बस्नु भएको र एक जनाको ज्यान गएको बताउनुभयो । छलफलमा वडाका निर्वाचित जनप्रतिनिधिहरु, टोलबिकास संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।