वीरगञ्ज नाकाबाट कात्तिक १५ गतेदेखि मङ्सिर मसान्त सम्ममा ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार मूल्य बराबरको धान भित्रिएको छ । धानको निर्यातमा भारत सरकारले लगाएको प्रतिबन्ध खुला गरेपछि डेढ महिनामा ९९ हजार ९ सय ४८ मेट्रिक टन धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
६ लाख मेट्रिक टन धानमा कर नलाग्ने गरी कोटा नै तोकेर भारतले नेपालका लागि निर्यात खुला गरेपछि नेपाली व्यापारीहरूले भारतबाट धमाधम धान आयात गरिरहेका छन् । नेपाल सरकारको पहल र व्यवसायीहरूको अनुरोधमा भारत सरकारले कात्तिक १५ गतेदेखि धानमा लगाएको प्रतिबन्ध हटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले बताउनुभयो । भारत सरकारले आन्तरिक उत्पादन घटेको र मुलुकभित्रै खपत बढी भएको जनाउँदै नेपालमा धान निर्यात रोकेको थियो । आन्तरिक उत्पादनले मुलुकभित्रको खाद्यान्नको आवश्यकता धान्न नसकेपछि प्रति वर्ष ५ देखि ६ लाख मेट्रिक टन धान र त्यही अनुपातमा व्यवसायीहरूले चामल आयात गर्दै आएका छन् ।