काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालयका तत्कालीन कार्यकारी निर्देशकसहित संलग्नहरूलाई सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्बन्धित निकायलाई सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालसहितलाई कारबाहीकाे सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।
नारायणहिटी परिसरको क्यान्टिन भाडामा लगाउँदा विवादमा तानिएका दाहालले हिजो मङ्गलवार पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा दिनुभएको थियो । दाहाल नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिमा २०७६ साल पुसमा नियुक्त हुनुभएको थियो । उहाँ नारायणहिटी प्रवेश गरेपछि बतास समूहलाई क्यान्टिन भाडामा लगाइएको थियो । तर बतासले क्यान्टिनसँगै राजाहरूले प्रयोग गर्ने बङ्कर र वरिपरिको १४ रोपनी जग्गामा भौतिक संरचना बनाएपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले अस्ति साेमवार प्रतिवेदन दिँदै दाहालको कमजोरी औँल्याएको थियो ।