मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । देशकै पहिलो गाउँपलिकाको रुपमा भीमफेदीले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो ।

सामाजिक सुरक्षा योजनाको शनिबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभारम्भ गर्नुभयो । कार्यक्रममा उहाँले पालिकाले गरेको काम सराहनीय भएको बताउनुभयो । उहाँले कार्यक्रमले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई राहत पुग्ने बिश्वास समेत व्यक्त गर्नुभयो ।

योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा पन्जिकृत ९८ जना सहभागी रहेका छ्न् । सामजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको मजदुरको न्युनतम बेतन १० हजार ८ सय २० तोकेको छ । त्यसमा पन्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ भने स्थानीय सरकारले ९.३७ प्रतिशत जम्मा गर्नेछ ।
सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपैयाँको मालिक रुपमा गाउँपालिकाद्वारा कोषमा जम्मा गरिनेछ । यो कोषमा आवद्द भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।

सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने स्याङ्जाको फेदिगाँउ गाउँपालिका पहिलो रहेको थियो तर कार्यन्वनमा भीमफेदी गाउँपालिकाले इतिहास रचेको छ । गाउँपालिकाले यो योजनालाइ सफल बनाउनलाई चालू आर्थिक वर्षमा १३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको भीमफेदी गाउँपालिकका अध्यक्ष हिदम लामाले बताउनुभयो । अनौपचारिक क्षेत्रका श्रमिमको कारण विकासको हरेक क्षेत्रको काम नियमित हुने गरेको भन्दै अध्यक्ष लामाले उनीहरुको सामजिक सुरक्षा स्थानीय सरकारको पहिलो कर्तव्य भएको कारण आफुहरुले योजनाको सुरुवात गरेको दाबी गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बर्ताैला, मकवानपुरका विभिन्न पालिकाका प्रमुख एवम् उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाइलगायत सुरक्षा निकायका प्रमुखहरू, विभिन्न कार्यालयका प्रमुखहरू, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिलगायत संघ संस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।