मकवानपुर–जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भूकम्पीय जोखिमबाट बच्न भूकम्पप्रतिरोधी संरचना निर्माण गर्नुपर्ने बताउनुभएको छ । भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार मकवानपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख खुलालले भूकम्पको क्षति न्यूनीकरण तथा जोखिमबाट बच्न संरचनाहरु निर्माण गर्दा भूकम्पप्रतिरोधी हुनु पर्नेमा जोड दिनुभयो ।

दिवसका अवसरमा मकवानपुरमा शुक्रबार प्रभातफेरीसहित कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख खुलालले जथाभाबी भवन निर्माण गर्दा भूकम्पको बढी जोखिम हुने हुँदा संरचना निर्माण गर्दा भवन निर्माण संहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भूकम्पलगायतका विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न भूकम्पप्रतिरोधी संरचना निर्माणका साथै सबै निकाय र नागरिकबीच सहकार्य गरी अगाडि बढ्नुपर्ने समेत बताउनुभयो । प्रमुख खुलालले जिल्लामा भूकम्पको काम अन्तिम चरणमा पुगेको साथै सधैं भुकम्प मात्र भनेर बस्न नहुने भन्दै छिट्टो सक्ने गरि काम अगाडी बढाउन समेत प्राविधिकहरुलाई आग्रह गर्नुभयो ।

यस वर्ष२३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा–साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ मनाइएको हो । कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भूकम्पलगायत विपद जानकारी दिएर नआउने भएकाले विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सतर्कता आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिकातर्फबाट जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा, भवन र स्थानीय पूर्वाधार तथा अनुदान व्यवस्थापन कार्यालय मकवापनुरको आयोजनामा प्रभातफेरी कार्यक्रम भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रजिअ रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीलगायत संघसंस्थाको समेत सहभागिता थियो । हेटौंडा–४, स्थित भुटनदेवी माविबाट सुरु भएको प्रभातफेरी स्कूलरोड, सिमाचोक, बुद्धचोक, लोकप्रियचोक हुँदै जिल्ला समन्वय समिति मकवानपुर परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।