मंसिर १ गतेदेखि मदिरा ओसारपसार तथा विक्री वितरणमा रोक

मकवानपुर – प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मङ्सिर ४ गते मकवानपुरमा निजी तथा सार्वजनीक सवारी साधन आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार एक सूचना जारी गर्दै निर्वाचनका दिन बिहान ५ बजे देखि भोलि पल्ट बिहान ५ बजेसम्म (२४ घण्टा) अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन नगर्न/नगराउन अनुरोध गरेको छ ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कडेँलद्धारा जारी सूचनामा अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेकका सम्पूर्ण निजी तथा सार्वजनीक सवारी साधन सञ्चालन नगर्न/नगराउन अनुरोध गरिएको छ ।
यसैगरी, स्थानीय प्रशासनले मंसिर १ गते राती १२ बजेदेखि मंसिर ५ गते दिउँसो १२ बजेसम्म जिल्लाभर र मतगणना हुने मतगणनास्थल (हेटौंडा–२, स्थित सिद्धार्थ मा.वि.को चार सय मिटरको आसपासको क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्मको लागि मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवन पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जारी सूचना विपरितका कार्य, प्रचलित कानून तथा निर्वाचन आचारसंहिता विपरितका कार्य एवम् निर्वाचन बिरोधी कुनै किसिमका गतिविधि भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने बताउनुभयो ।