मकवानपुर । हेटौंडामा उत्पादन भएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा–१२ घलेगाउँ स्थित कञ्चनजंगा कृषि सहकारी सस्था लधु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।

लधु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगकालागि उपयुक्त भएको भन्दै हेटौंडा स्थित खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्याममा लागेको साना व्यवसायी मध्य गुन्द्रुकउद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको बताइएको छ ।

मान्यता प्राप्त गरेसँगै जिल्लाभित्र र बाहिरी शहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परिक्षण र निगरानी पश्चात खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्रदिएको उपमहानगरपालिको उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले बताउनुभयो ।

उपमहानगरपालिकाको १ लाख रुपियाँ बाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्विकृत पाउँदा आफुहरु निकै खुशी भएको उद्यमी समुहका अध्यक्ष चिनीमाया गुरुङले बताउनुभयो । नगरपालिकाको पैसा र सहकारीको ८० हजार रुपियाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाई गुन्द्रुकको उत्पादनमा लागेको उहाँले बताउनुभयो ।

उद्यमी समुहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै मेयर मीनाकुमारी लामाले हेटौंडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उपमहानगरपालिकाका आर्थिक बिकास समितिका संयोजक एवम् वडा नम्बर १८ का अध्यक्ष अनिल बाँनियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीलगायतको उपस्थिती थियो ।