केही सञ्चार माध्यमहरुले हुम्लामा रहेको नेपाली भूभागमा चीनले घरहरु निर्माण गरेको भन्ने झुठो समाचार सम्प्रेषण गरेको भन्दै, चीन सरकारले उक्त समाचारको खण्डन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ्ग सियालोङ्गले चीनले नेपालको भौगोलिक अखण्डताको सधै सम्मान गर्ने बताउनुभएको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा बाहिर ल्याएको हो ।
समाचारमा देखाइएका घरहरु चीनतर्फका भू–भागमा पर्ने बताउनु हुँदै प्रवक्ता वाङ्गले नेपाली पक्षद्वारा उक्त क्षेत्रको पुनःअवलोकन र प्रमाणीकरण गर्न चिनियाँ सरकार तयार रहेको बताउनु भयो । नेपाल र चीनबीच सीमाका विषयलाई लिएर कुनै विवाद नरहेको बताउनु हुँदै प्रवक्ता वाङ्गले सीमा व्यवस्थापनमा दुई देश निरन्तर सम्पर्कमा रहेको बताउनुभयो । नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ ।
हेर्नुस् चिनियाँ दूतावासका प्रवक्ताको छोटो विज्ञप्तीको पूर्णपाठः
‘चीन र नेपाल मित्रवत छिमेकी हुन् । चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ । मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ । नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्ने छ । चीन र नेपालबीच सीमा विवाद छैन । दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन् ।’