मकवानपुर– वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले दुर्लभ वनस्पति संरक्षणका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । दुर्लभ वनस्पति संरक्षणका लागि समुदायको महत्वपूर्ण भुमिका हुने भन्दै केन्द्रले मनहरी गाउँपालिकाको वनकरिया र चेपाङ्ग समुदायमा दुर्लभ एवं संकटापन्न वनस्पतिहरुको बासस्थान संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।

वनकरिया तथा चेपाङ्ग समुदायहरु वनको आसपासमा बस्ने र खानामा कन्दमुलसमेत प्रयोग गर्ने हुनाले दुर्लभ तथा लोप हुने अवस्थामा पुगेका वनस्पतिहरुको बासस्थान संरक्षणमा जोड दिने उद्देश्यले सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएको वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका कार्यालय प्रमुख रघुराम पराजुलीले जानकारी दिनुभयो । वनमा पाइने कन्दमुलहरु जसमा गिठ्ठा, भ्याकुर, तरुल लगायतका वनस्पतिहरुको प्राकृतिक उपलब्धतामा ह्रास आउँदै गरेको छ । भ्याकुर जस्ता दुर्लभ वनस्पति साईटिसको अनुसूचीमा समेत परेका छन्, यस्ता अन्य थुप्रै वनस्पतिहरुको बासस्थान संरक्षण गर्ने तर्फ सचेत र सजग बनाउन समुदायमा अभियान चलाइएको र समुदायहरुले पनि यसलाई सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो ।

साईटिसको सूचीमा नै परेको भोटे लहरा नामको वनस्पति धेरै पहिले नै मकवानपुर जिल्लामा अभिलेख भएकोमा अहिले यसको बासस्थानको पनि खोजी भइरहेको कार्यालय प्रमुख पराजुलीले बताउनुभयो । वनकरिया र चेपाङ्ग समुदायले समेत अभियानलाई सकारात्मक रुपमा लिएको र वनस्पतिहरु लोप नहोउन र यिनीहरुको बासस्थान सुरक्षित रहोस् भन्नेमा यस्ता सचेनामुलुक कार्यक्रमहरु प्रभावकारी देखिएको उहाँको भनाई छ ।