मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरले सदरमुकाम हेटौंडामा होल्डिङ सेन्टर सञ्चालन गर्ने सोँच बनाएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायत विदेशबाट जिल्लाका विभिन्न स्थानीय तहमा फर्कनेहरुलाई कम्तीमा एक दिन राख्न होल्डिङ सेन्टर सञ्चालन गर्ने सोँच बनाएको हो ।
वैदेशिक रोजगारीबाट फकर्नेहरुलाई सम्बन्धीत स्थानीय तहहरुले व्यवस्थापन गर्नु अघि कम्तिमा एक दिनसम्म सदरमुकाममा राख्न ५० बेड सम्मकाे होल्डिङ सेन्टर सञ्चालन गर्ने सोँच बनाइएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । स्थानीय तहहरु तथा जिल्ला स्थित संघ÷संस्थाको सहयोग र सहकार्यमा बिशेष गरि भारतबाट रात बेरात आउनेहरुलाई सहज होस भन्ने उदेश्यका साथ होल्डिङ सेन्टर सञ्चालनको सोँच बनाईएको उहाँले बताउनुभयो । “भारतबाट आउने क्रममा हेटौंडामै रात पर्ने र आफ्नो घर सम्म पुग्न नसक्ने अवस्थाका नागरिककालागि होल्डिङ सेन्टर सञ्चालन गर्ने सोँच बनाएका हौं, साथै सम्बन्धीत स्थानीय तहहरुले उनिहरुलाई लानका लागि व्यवस्थापन गर्न कम्तीमा ४ देखि ८ घण्टा लाग्ने हुँदा सो अवधिकालागि उनिहरुलाई एक दिन सम्म खाने र बस्ने व्यवस्था सहिति होल्डिङ गर्न सेन्टर सञ्चालन गर्ने साँेचेका हौं”– प्रमुख खुलालले भन्नुभयो ।
होल्डिङ सेन्टर सञ्चालनकालागि स्थानीय तहहरुसंग छलफल गर्न भने बाँकी नै रहेको उहाँले जानकारी दिनुभयो । सेन्टर सञ्चालन सम्बन्धी छलफलकालागि आईतबार स्थानीय तह समन्वय समितिको बैठक बोलाईएको र स्थानीय तहहरुसंग छलफल गरेर थप निर्णयमा पुग्ने उहाँले जानकारी दिनुभयो । स्थानीय तह एवम् संघ÷संस्थाहरुको सहयोग र सहभागितामा होल्डिङ सेन्टर सञ्चालन गर्न सके रात–बेरात हेटौंडा सम्म आईपुगेका जिल्लाका नागरिकहरुलाई सहज रुपमा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । स्थानीय तहहरुको सहयोग रहेमा जिल्ला समन्वय समितिले सेन्टरको व्यवस्थापन गर्ने प्रमुख खुलालले बताउनुभयो ।