हेटाैंडा – विपरीत गुणका सूर्य र पानीको पूजा आराधना गरी चार दिने छठ पर्व मनाइन्छ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी छठ पर्व मनाइने गरिएकाे छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व पहिलाे दिन स्नान गरी चोखो खाएर बसिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन बिहान व्रतालुले स्नान गरेसँगै यो पर्वको विधि सुरु हुन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै तामसी खाद्य परिकार नखाइ शुद्ध खानपिन गर्छन् ।
मनोकाङ्‍क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन् । तराईमा उत्साहका साथ मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व पछिल्लाे समय पहाडी क्षेत्रमासमेत मनाउन थालिएको छ । सूर्य उपासनाको पर्व भएकाले पहाडी समुदाय पनि यसप्रति आकर्षित भएका छन् । कार्तिक शुक्ल चतुर्थीका दिन छठ स्थलमा सरसफाइ एवं स्नान गरेका व्रतालु पञ्चमीका दिनमा निर्जल उपवास बस्छन् । यस दिन बेलुकी घरमा खीर बनाइ चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिन्छ ।
षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ, रोटी सूर्य एवं छठी मातालाई चढाउने गर्छन् । रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्‍कित गरिन्छ । षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्‍न लागेका सूर्यलाई अर्ध्य दिइ प्रणाम गरिन्छ । अर्ध्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्ध्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अर्ध्य दिइ सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्त लुगासहित कम्मरसम्म पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।
पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्‍क्षा पूरा भइ इच्छाएको फल प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भइ हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटा केटीले सुयोग्य वर बधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।
सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको पौराणिक ग्रन्थमा उल्लेख छ । अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको सूर्य पुराणमा उल्लेख छ । छठ व्रतका प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएपछि अरुले पनि मनाउने परम्पराको सुरुआत भएको अनुयायीको भनाइ छ । यस वर्ष कार्तिक शुक्ल षष्ठी अर्थात् कात्तिक १३ गते आइतबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् कात्तिक १४ गते साेमबार बिहान उदाउँदो सूर्यलाई अर्ध्य दिइन्छ ।